जीवन ज्योति आवि भद्रपुरमा अक्षयकोष स्थापनाका लागि ५० हजार सहयोग
भद्रपुर । भद्रपुर- ९ चन्द्रगढीस्थित जीवन ज्योति आधारभूत विद्यालयलाई दाताले अक्षयकोष निर्माणका लागि नगद ५० हजार रुपैयाँ प्रदान गरेका छन् । विद्यालयमा बिहीबार आयोजित संक्षिप्त कार्यक्रममा भद्रपुर ९ देवकोटा चोक घर भई हाल अमेरिका बस्दै आएका डाक्टर पर्शुराम दाहालले अक्षयकोष स्थापना गरिदिएका हुन् ।
डा. दाहालले विद्यालयकी प्रधानाध्यापक निर्मला पौडेललाई सो नगद रकम हस्तान्तरण गरेका छन् । विद्यालयले अक्षयकोष स्थापना गरी उक्त रकमको व्याजबाट विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिने प्रअ पौडेलले बताइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले सामुदायिक विद्यालयहरू कठिन अवस्थामा रहेको उल्लेख गर्दै सुधारका लागि नगरको शिक्षा क्षेत्रमा काम गर्न थप रकम विनियोजन गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नूतन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक गोपीकृष्ण न्यौपाने र स्वागत मन्तव्य प्रधानाध्यापक पौडेलले राखेकी थिइन् ।