२०८१ मंसीर २१ गते , शुक्रबार
तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्म विप्रेषण आप्रवाह वृद्धि भई रु. चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्रबैंकले जनाएको छ। गत असोज मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. चार खर्ब चार अर्ब सात करोड रहेको थियो। असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ।