२०८२ माघ ५ गते , सोमबार

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

sajilo news
रासस
२०८२ मंसीर १३ गते , शनिबार
चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

सुनसरी । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छिन्। इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आएकी छिन्।

भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेशा नै हो। जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उनले निरन्तरता दिइरहेको बताइन्। भोटेले भनिन्,‘पहाडमा पहिला अस्पताल र सडक सुविधा नहुँदा बिरामी पर्दा हामीले यही जडीबुटी प्रयोग गर्ने गरेका थियौँ। यही ज्ञानलाई निरन्तरता दिँदै तराई झरेर यही व्यवसाय सुरु गरेकी हुँ।’

पहिले हिउँद शुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दिन हाटबजारमा बिक्री गर्दै तराई झर्नुहुन्थ्यो। अहिले भने सडक यातायातको पहुँच पुगेसँगै गाउँमै पनि व्यापार गर्न सहज भएको छ। शुरुमा शहरको बसाइ र गर्मीको मौसम निकै गाह्रो भए पनि विस्तारै बानी पर्दै गएपछि व्यवसाय वृद्धि हुदै गएको उनले बताइन्। अहिले दैनिक रूपमा ६ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। आइतबार हटियाको दिन भने १५ हजारदेखि २० हजारसम्म आम्दानी हुने गरेको भोटेले जानकारी दिइन्।

भोटेको पसलमा हाल १०० भन्दाबढी जडीबुटी बिक्रीका लागि राखिएका छन्। ५ देखि २० हजारसम्मका जडीबुटी बिक्रीका लागि उपलब्ध छन्। रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक तथा साँस्कृतिक प्रयोजनका सामग्रीसम्म बिक्रीमा छन्। किरात समुदायले साकेला पर्वमा प्रयोग गर्ने चौरीको पुच्छरसमेत उनले बिक्रीका लागि राखेकी छिन्।

भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बासहित विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आएकी छिन्। ‘अहिलेसम्म कुनै पनि ग्राहकबाट नकारात्मक प्रतिक्रिया आएको छैन, एकपटक सामन किनेर गएपछि अर्को पटक फर्केरै आउनुहुन्छ, यही मेरो सफलताको आधार हो’, खुशी हुँदै उनी भन्छिन्। अहिले धेरैजसो काठमाडौँ, विराटनगर, वीरगञ्ज, मोरङ, झापालगायत स्थानबाट फोनमार्फत धेरै माग आउने गरेको उनले बताइन्। 

सोही ठाउँमा जडीबुटी व्यवसाय सञ्चालन गर्दै आएकी पासाङ् ल्यामु भोटियाले पनि १५ वर्षदेखि यही पेशालाई आत्मनिर्भरताको आधार बनाउँदै आएको बताइन्। उनले भनिन्, ‘घरखर्चदेखि बालबच्चाको पढाइलेखाइसम्म सबै खर्च यही व्यवसायबाट धानिँदै आएको छ जडिबुटी व्यवसायबाट राम्रो भएको छ आम्दानी मेरो आम्दानीको स्रोत नै यही हो।’

लेकमा जन्मेर तराई झरेको पहाडी भेगको चिसो हावापानीसँग खेलेर हुर्केको शुरुमा गर्मी ठाउँमा झरेर व्यापार गर्दा निक्कै गाह्रो भएको थियो। अहिले भने घाम सहन बानी परिसक्यो व्यापारमा पनि सहज भएको छ। भोटियाले भन्नुभयो, यो जडिबुटी भनेको हाम्रो पुर्खौली पेसा नै हो। अन्य पेशामा ज्ञान नभएका कारणे पुर्खौली पेशा जडीबुटी व्यवसाय नै रोजेको उनले बताइन्। बिक्रीका लागि जडिबुटी, सङ्खुवासभा, भोटखोला, साथै नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको भोटियाले बताइन्। 

सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोलालगायत हिमाली क्षेत्रका शेर्पा तथा भोटे समुदायमा आज पनि जडीबुटी सङ्कलन तथा बिक्री परम्परागत पेशाका रूपमा चलेको छ। विगतमा महिनौँ यात्रा गर्दै बर्कीका कुम्लो बनाएर बोकेर गाउँ शहर डुल्ने परम्परा रहे पनि अहिले यातायात तथा आपूर्तिको सहजताले गाउँमा पनि व्यवसाय गर्न सहज भएको व्यापारीको भनाइ छ।

सम्बन्धित समाचार