२०८२ माघ २१ गते , बुधबार

रोचक छ झापा-३ को परिणाम, यस पटक गठबन्धनबिनै दलीय परीक्षा

sajilo news
पार्थ मण्डल
२०८२ माघ १९ गते , सोमबार
रोचक छ झापा-३ को परिणाम, यस पटक गठबन्धनबिनै दलीय परीक्षा

झापा । २०४८ सालदेखि ०७९ सम्मका आमनिर्वाचनको परिणामले झापा–३ को जहिल्यै चर्चामा भइरह्यो। ७ पटकका निर्वाचनमा झापा–३ मा दुई पटकभन्दा बढी कुनै पनि दलका उम्मेदवारले जित्न सकेका छैनन्। दुईपटक एमाले, दुईपटक कांग्रेस, दुईपटक राप्रपा र एक पटक नेकपा माओवादीले यो क्षेत्रमा चुनाव जितेको इतिहास छ। अर्थात्, यो क्षेत्रमा कुनै पनि दलले चुनावमा तीनपटक ह्याटिक जित निकाल्न सकेको छैन। 

०४८ देखि ०५५ सम्म एमालेको लालकिल्ला थियो। ०५६ को निर्वाचनमा कांग्रेसको हरियो झन्डा गाड्यो। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा यस क्षेत्रमा माओवादीले जित्यो। तर, ०७० को दोस्रो संविधानसभामा निर्वाचनमार्फत कांग्रेसको कमब्याक भयो। ०७४ सालको निर्वाचनमा कांग्रेसलाई ब्रेक लगाउँदै एमालेको सहयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जितेर कब्जा जमायो।  राजनीतिक उथलपुथल भइरहने यस क्षेत्रमा आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले कब्जा जमाउला ? चासोको विषय छ। राप्रपाले आफ्नो विजयी यात्रालाई निरन्तरता दिन्छ वा अरू दलले नै बाजी मार्लान ? अनुमान गर्न गाह्रो छ। झापा–३ राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो। 

राप्रपा अध्यक्ष लिङ्देन पाँचौंपटक उम्मेदवार बनेका छन्। यस पटक उनका प्रतिस्पर्धीमा कांग्रेस नेता सिटौला मैदानमा छैनन्। सिटौला चुनावी मैदानमा नहुँदा कांग्रेस नेता तथा कार्यकर्तामा खासै उत्साह पनि देखिएको छैन।  

सिटौलाको पकड मानिएको क्षेत्रमा कांग्रेसले राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ। कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति चयन गरेपश्चात् बाँडिएको टिकट भागबन्डामा घिमिरेलाई यसपटक चिट्ठा परेको पार्टी निकट कार्यकर्ताहरू बताउँछन्। 
यस क्षेत्रमा समानुपातिकमा पहिलो दल बनेको कांग्रेसका उम्मेदवार घिमिरेले यो अवसरलाई सदुपयोग गर्ने हुन वा राप्रपा अध्यक्ष लिङ्देनले ह्याट्रिक गर्ने हुन ?    मतदाताबीच बहस छ।

१२ वर्षपछि एमालेले यो क्षेत्रमा पार्टीका उम्मेदवार उठाएको छ। एमालेको उपस्थितिले पनि चुनावी माहोल झन् प्रतिस्पर्धी बन्न पुगेको छ। एमालेले हरिबहादुर राजवंशीलाई उम्मेदवार बनाएको छ। भौगोलिक जनसंख्याको आधारमा यस क्षेत्रमा राजवंशी समुदायका ठूलै संख्यामा मतदाता छन्। तर, एमालेले हरिबहादुरलाई उम्मेदवार बनाइरहँदा जनमत पार्टीबाट हर्षलाल राजवंशी, जसपाबाट विनिताकुमारी राजवंशी,  जसपा नेपालबाट कर्णलाल राजवंशी र स्वतन्त्रबाट अभय राजवंशी उम्मेदवार छन्। त्यसैकारण राजवंशी समुदायको मत बांडिने अनुमान गरिएको छ। 

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दिएपछि त्यसको प्रभाव जिल्लाका अन्य क्षेत्रहरूमा पनि पर्ने देखिएको छ। रास्वपाका जिल्ला सभापति प्रकाश पाठक दोस्रोपटक झापा–३ मा उम्मेदवार बनेका छन्। रास्वपाका पाठकले ०७९ को निर्वाचनमा ३ हजार ४ सय ७१ मत ल्याएका थिए। संगठन विस्तार र घण्टीको क्रेजका कारण यसपटक मत धेरै बढ्ने आकलन गरिएको छ। गाउँघरमा उम्मेदवारभन्दा पनि बालेनको घण्टी भन्दै मतदातामा बढी क्रेज देखिएको छ। सशस्त्र युद्धको अन्त्यपछि ०६४ सालमा माओवादीमा आएको परिणाम जस्तै यस पटक घण्टीमा लहर छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले युवा नेता डिल्ली घिमिरे (हिक्मत)लाई उम्मेदवार बनाएको छ। ०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले वाम गठबन्धन गर्दै नेपाली कांग्रेसलाई यस क्षेत्रमा सघाएको थियो। योपटक नेकपा पनि चुनावी मैदानमा होमिएको छ। नेकपाले यस क्षेत्रबाट समानुपातिक उम्मेदवारको रूपमा हीराकुमारी राजवंशीलाई अगाडि सारेको छ। 

त्यसैले राजवंशी समुदायको मत पनि नेकपामा खस्ने आकलन पार्टीले गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीले पनि यस क्षेत्रमा उम्मेदवार उठाएको छ। पार्टीले दीपक तिम्सिनालाई उम्मेदवार बनाएको हो। स्वतन्त्रसहित १८ जना उम्मेदवार रहेको यस क्षेत्रमा १ लाख ४० हजार ८ सय ५७ मतदाता छन्। यस पटक ९ हजार ४ सय २५ नयाँ मतदाता थपिएका छन्। ०७९ को निर्वाचनमा समानुपातिक मतपरिणामअनुसार कांग्रेस पहिलो दल बनेको थियो। कांग्रेसले २५ हजार ५ सय ३५ मत पाएको थियो। त्यस बेला दोस्रो स्थानको राप्रपाले १९ हजार ७ सय ४३, तेस्रोमा एमालेले १९ हजार ४ सय ६०, चौथोमा रास्वपाले ७ हजार ८ सय १२ र पाँचौँ स्थानमा माओवादी केन्द्रले ७ हजार ५ सय ९५ मत ल्याएको थियो।

यस्तो छ विगतको चुनावी परिणाम

यो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेका नेता द्रोणप्रसाद आचार्य विजयी भएका थिए। आचार्यको मुख्य प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौला थिए। आचार्यले १३ हजार ७ सय २१ मत ल्याउँदा सिटौला ९ हजार ८ सय २७ मत ल्याए। ०५१ सालको मध्यावधि निर्वाचनमा पनि एमालेका पुष्पराज पोखरेल विजयी भएका थिए। पोखरेलका मुख्य प्रतिद्वन्द्वी पनि कांग्रेस नेता सिटौला नै थिए। पोखरेलले १५ हजार ६ सय ५२ मत ल्याउँदा सिटौला १४ हजार ५ सय ११ मत ल्याएर पराजित भएका थिए।  

०५६ को संसदीय निर्वाचनमा एमालेको विजयी यात्रामा ब्रेक लाग्यो। लगातार दुई पटक संसदीय निर्वाचन जितेको क्षेत्रमा कांग्रेसले आफ्नो हरियो झन्डा गाड्न सफल भयो। निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण राजवंशीलाई पराजित गर्दै कांग्रेस नेता सिटौला पहिलोपटक सांसद बने। सिटौलाले १७ हजार ५ सय ६९ मत ल्याएर विजयी हुँदा राजवंशीले १५ हजार ३ सय मत ल्याएका थिए। सोही निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजेन्द्रप्रसाद लिङ्देन पहिलोपटक उम्मेदवार बनेका थिए। उनले त्यसबेला ५ हजार ६ सय २५ मत ल्याएर तेस्रो भएका थिए।

दोस्रो जनआन्दोलन ०६२/६३ पछि राजतन्त्रको अन्त्य भई देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भयो। माओवादीले सशस्त्रद्वन्द्व छाडेर शान्ति सम्झौता गरेपछिको ०६४ सालमा पहिलो संविधानसभा निर्वाचन भएको थियो। त्यस बेला माओवादीका पूर्णसिंह राजवंशी विजयी भए। कांग्रेस नेता सिटौला फेरि पराजित भए। राजवंशीले १६ हजार ६ सय ८५ मत ल्याउँदा सिटौलाले १४ हजार ४९ मत ल्याएका थिए। एमालेका पुष्पराज पोखरेलले ९ हजार ६ सय ५४ मत ल्याए। 

०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिटौला दोस्रोपटक निर्वाचित भए। उनले १४ हजार ३ सय ५५ मत ल्याएर सांसद बने। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा अध्यक्ष लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याएका थिए। ०६४ सालमा पहिलो दल बनेका नेकपा माओवादी चौथो र एमाले तेस्रो दल बने। २०६४ मा पाँचौं दल बनेको राप्रपा दोस्रो स्थानमा उक्लियो। 

संघीयतापश्चात् ०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस र राप्रपाबीच देशभर चुनावी तालमेल भएको थियो। तर, झापामा राप्रपा र वाम गठबन्धनबीच चुनावी तालमेल भएको थियो। राप्रपाका त्यस बेलाका महामन्त्री लिङ्देनले कुनै पनि हालतमा झापा–३ नछाड्ने अडान लिएका थिए।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा फेरि सिटौला र लिङदेन आमनेसामने उभिए । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारको रुपमा सिटौला तथा नेकपा (एमाले)–राप्रपाका साझा उम्मेदवारको रुपमा लिङदेनबीच कडा प्रतिस्पर्धा भएको थियो । एमालेसँग भएको गठबन्धनका कारण लिङदेन लगातार दोस्रो पटक सांसदमा निर्वाचित भए । लिङदेनले ४० हजार ६६२ मत ल्याएकोमा निकटतम सिटौलाले ३७ हजार ३८६ मत ल्याएका थिए । त्यस बेला एक लाख ३१ हजार ४३२ मतदाता रहेकामा ८९ हजार ६३७ मत मात्र खसेको थियो ।

सम्बन्धित समाचार