पत्रकार कवीन्द्र सेर्माको निधन
करिब तीन दशक अघिदेखि पत्रकारितामा सक्रिय पाँचथरका पत्रकार कवीन्द्र सेर्मा (कालीबहादुर) को निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित सेर्माको गएराति काठमाडौँमा निधन भएको हो । पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउँपालिका–२) मा जन्मिएका सेर्माले २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गरेका थिए । उनले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गरेका थिए । पाँचथरका लागि रेडियो नेपालका संवाददाता रहेका थिए । त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध भएका थिए । रेडियो समात्ल्हुङ र रेडियो इगलमा संस्थापक म्यानेजर रहेका थिए । त्यसपछि उनले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्याएका थिए ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका संस्थापक अध्यक्षसमेत रहेका सेर्माले जिल्लाको पत्रकारिता क्षेत्रको संस्थागत विकासमा समेत योगदान पुर्याएका छन् । उनी झन्डै ३ वर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आएका उनी थप उपचारका लागि भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालसमेत पुगेका थिए । उपचारकै क्रममा काठमाडौँमा उनको निधन भएको हो ।