बिर्तामोडमा अनलाइन ठगीको आशंकामा ३० जना नियन्त्रणमा, २५ ल्यापटप र ८८ मोबाइल बरामद
झापाको बिर्तामोडमा अनलाइनमार्फत ठगी गरेको आशंकामा प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये २५ जना महिला र पाँच जना पुरुष रहेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले विशेष सूचनाका आधारमा मंगलबार साँझ बिर्तामोडको शनिश्चरे रोडस्थित एक आईटी कार्यालयमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ख्यामराज घिमिरेका अनुसार प्रहरीले उनीहरूको साथबाट २८ वटा व्यक्तिगत मोबाइल, कार्यालयमा प्रयोग हुने ८८ वटा मोबाइल फोन र २५ वटा ल्यापटप बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका २५ जना महिलालाई हाजिर जमानीमा छाडिएको छ भने पाँच जना पुरुषलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार शनिश्चरे रोडमा सञ्चालित ‘इन्फरमेटिक्स प्रालि’ नामक संस्थाबाट विदेशमा रहेका व्यक्तिहरूलाई लक्षित गरी नक्कली सामाजिक सञ्जाल आईडी बनाएर ठगी गर्ने गरिएको आशंका छ । त्यस्तै, विभिन्न एप निर्माण गरिदिने तथा असाइनमेन्ट तयार पारिदिने भन्दै अनलाइनमार्फत रकम असुल्ने गरेको प्रारम्भिक सूचना प्रहरीसमक्ष पुगेको बताइएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका महिलाहरू १९ देखि २५ वर्ष उमेर समूहका छन् । उनीहरूलाई तलब तथा विभिन्न प्रलोभन देखाएर संस्थामा काममा लगाइएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।