कोशी प्रदेशमा सुरक्षित यात्रा अभियान सुरु
सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरिएको छ । ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ अभियान सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले अभियानको शुभारम्भ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी खनालले सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । दुर्घटना नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यातायात व्यवसायी, चालक, सहचालक, यात्रु, पैदलयात्री तथा सरोकारवाला निकाय सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा भार बोक्नु, चालक अनुमतिपत्र र आवश्यक सीपबिना सवारी चलाउनु, जथाभाबी ओभरटेक गर्नु, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने कार्य र लेन अनुशासन उल्लङ्घन दुर्घटनाका प्रमुख कारण रहेको उनले बताए ।
त्यसैगरी यात्रु तथा पैदलयात्रीले जथाभाबी सडक पार गर्नु, सवारी साधनको यान्त्रिक अवस्था, प्रतिकूल मौसम र भौगोलिक जोखिमले पनि दुर्घटनाको सम्भावना बढाउने उनको भनाइ थियो । उनले नियमित रूपमा सवारी साधनको अवस्था जाँच गर्न, सडक तथा मौसमको अवस्थालाई ध्यान दिन र ट्राफिक नियमको पूर्ण पालना गरी यात्रा गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा इमानदारिता प्रदर्शन गर्ने एक सिटी सफारी चालकलाई सम्मान गरिएको छ । गत कात्तिक १६ गते आफ्नो सिटी सफारीमा यात्रुले छुटाएको पाँच लाख रुपैयाँ नगद रहेको झोला कुनै प्रलोभनमा नपरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाउने चालक जितबहादुर राईलाई डीआईजी खनालले सम्मान गरेका हुन् ।
सुरक्षित चालक नम्बर ३६६ का रूपमा परिचित राईले देखाएको इमानदारिता र जिम्मेवार बोधको कदर गर्दै सम्मान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र पहुँचयोग्य बनाउँदै दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशका १४ वटै जिल्लामा अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
यसैबीच, सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न कोशी प्रदेश प्रहरीले टिकटक प्रतियोगितासमेत आयोजना गरेको छ । सामाजिक सञ्जालमार्फत आम नागरिकसम्म सडक सुरक्षाको सन्देश पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति तथा समूहले सडक सुरक्षा, ट्राफिक नियमको पालना र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश समेटिएका जनचेतनामूलक टिकटक भिडियो निर्माण गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पठाउन सक्नेछन् । प्रतियोगिताले नागरिक, यातायात व्यवसायी, चालक, सहचालक, यात्रु तथा पैदलयात्रीमा सडक सुरक्षाप्रतिको जिम्मेवारी बोध बढाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवाल, यातायात व्यवसायी, सञ्चारकर्मी, सवारी चालक, सहचालक तथा प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।