आज पूर्णिमा : गुरु नानक जयन्ती र निम्बार्काचार्य जयन्ती मनाइँदै
भद्रपुर । आज हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पूर्णिमा तिथि परेको छ। यससँगै आज सिख धर्मावलम्बीहरूले गुरु नानक जयन्ती मनाउँदै छन्।
पञ्चाङ्गअनुसार आज शुक्ल पक्षको पूर्णिमा तिथि रहेको छ। पूर्णिमा तिथि आज राति ८ बजेर ३९ मिनेटसम्म रहनेछ। त्यसपछि कृष्ण पक्षको प्रतिपदा तिथि सुरु हुनेछ। आज कृत्तिका नक्षत्र र परिघ योग रहेको छ। धार्मिक मान्यताअनुसार पूर्णिमाका दिन भगवान् विष्णु तथा सत्यनारायणको पूजा–आराधना गर्ने, स्नान, दान र पुण्यकर्म गर्ने परम्परा छ। यस दिन घर तथा मन्दिरमा सत्यनारायणको कथा वाचन र पूजा गर्ने चलनसमेत रहेको छ।
आज निम्बार्काचार्य जयन्ती पनि परेको छ। वैष्णव सम्प्रदायका आचार्य निम्बार्काचार्यको स्मरण तथा पूजाआराधना गरी यो दिन मनाइन्छ। त्यस्तै, आज कार्तिक स्नान र चतुर्मास व्रतको समापनसमेत हुँदैछ।
सिख धर्मका संस्थापक गुरु नानक देवको जन्मजयन्तीका अवसरमा आज विश्वभरका सिख धर्मावलम्बीहरूले विशेष धार्मिक कार्यक्रम, कीर्तन, प्रार्थना तथा सेवा गतिविधि सञ्चालन गर्दैछन्।
यसैगरी आज नेपालका विभिन्न स्थानमा सकिमना पुन्हि पनि मनाइँदैछ। नेवार समुदायमा विशेष महत्व राख्ने यस पर्वमा समयबजीसहितका परम्परागत परिकार बनाएर खाने र धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने चलन छ। आजको दिन धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।