२०८३ मंसीर ९ गते , मंगलबार

दमकमा ब्राउन सुगरसहित तीनजना पक्राउ

sajilo news
झापा
२०८३ मंसीर ९ गते , मंगलबार
दमकमा ब्राउन सुगरसहित तीनजना पक्राउ

झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९:३० बजेतिर दमक नगरपालिका–९ प्रधान टोलमा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मारेको थियो  । 

प्रहरीले छापा मारेर स्थानीय २५ वर्षीय युनिक श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० बस्ने २५ वर्षीय साहिल केसीलाई पक्राउ गरेको थियो ।  प्रहरीले उनीहरूको साथबाट २ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाइएको छ । 

प्रारम्भिक सोधपुछका क्रममा उक्त लागुऔषध दमक नगरपालिका–५ गौरस टोल बस्ने ४९ वर्षीया गीता देवी रायसँग किनेर ल्याएको खुलेपछि प्रहरीले उनको घरमा समेत खानतलासी गरेको थियो । खानतलासीका क्रममा रायले सुत्ने कोठामा पोका पारी लुकाइछिपाइ राखेको अवस्थामा प्लास्टिकबाहेक ७ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । 

बरामद लागुऔषधसहित तीनैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । 

सम्बन्धित समाचार