२०८१ मंसीर २१ गते , शुक्रबार

मेची पुलकाे पुरानाे कथा र हालकाे उटुङ्गी राजनीति !

sajilo news
झापा
२०८१ आश्विन ११ गते , शुक्रबार
मेची पुलकाे पुरानाे कथा र हालकाे उटुङ्गी राजनीति !

-: नकुल काजी :-                                           
इतिहासलाई ढाँट्नु वा छलछन्दकाे ढकनीलाई  'आफ्नाे स्वार्थ अनुकूल' अतिरञ्जनाले सिँगारेर 'आफ्ना' पात्र-पात्राका तस्वीर प्रस्तुत गर्नु समय-समयका यथार्थहरू प्रतिकाे ठूलाे वेइमानी मात्र हाेइन उपल्लाे अपराध नै हाे भन्ने विश्व-मान्यता छ । तर, इतिहासका घटना-विवरणकाे पृष्ठभूमिलाई दलीय वा गिराेही रंग पाेत्ने अनि त्यसमाथि 'आफू' र 'आफ्ना नातेदारदेखि जात-थर-गाेत्रका'-हरूका  तस्वीर प्रतिष्ठापित गरी आत्मरतिले  मगमगाउने घटिया चलनले नेपालमा मात्र हाेइन दक्षिण-पूर्व एशियाइ मुलुकहरूमा, केही दशकयता, व्यापकता पाउँदै आएकाे अनुभूत हुँदैछ । भिक्षाजीवी नेपालीकाे नाम 'कुबेरप्रसाद' वा इण्डियन भीखमङ्गाकाे नाम 'धनीराम' भए जस्तै व्यावहारिक भावभूमिमा धरातलीय जनमनले बुझ्नु परिरहेकाे 'संघीय लाेकतन्त्र'-काे अवाञ्छित रूप अहिले देशका कित्ता-कान्लाहरू प्रायः सर्बत्र प्रकीर्ण  छ । आफूलाई लाेकतान्त्रिक तत्वग्राही अथवा लाेकतन्त्रकाे सिद्धान्तका प्रति आत्मनिवेदित बताइरहेका राजनीतिक पार्टीहरूमै पनि सत्तारुढ र प्रतिपक्षबीच शक्ति र अख्तियारमा आकाश-धरतीकाे पक्षभेदी वैभिन्न्य (wall of discord)-का ठूल्ठला असैद्धान्तिक  पर्खाल खडा हुनेगर्दै आएका छन् ! यसाे हुँदा , समसामयिक इतिहासकाे जिजीविषा ने अपमानित हुने सम्भावना तीब्र गतिमा बढ्दै गएकाे छ । याे  अवस्थामा सुधार भएन र इतिहासका लागि सासाना अनुच्छेद (paragraph) बन्नसक्ने घटनालाई स्वार्थ-सम्पाेषणका निम्ति अतिरञ्जित गर्ने परम्पराले स्थापित हुनपाउने अवस्था पल्लवित-पुष्पित हुन थाल्याे भने, अन्यत्र के हुन्छ कुन्नि - भद्रपुरमा चाहिँ, 'ईतिहास'-काे परिभाषा नै काल्पनिक कथा-कविता वा समग्रमा विकृत हुने दुर्भाग्य हुने देखिँदाे छ  ।.....
              हुन त  यहाँ उपस्थापना गर्न लागिएकाे प्रसङ्गलाई यत्राे ठूलाे भूमिकाकाे सम्मान आवश्यक थिएन तापनि एउटा ठूलै  पार्टी-समर्थकहरूबाट, उनीहरूकाे अनुकूल,  घरिघरि भद्रपुरमा  उठाउने गरेका २०२८ सालमा भद्रपुरमा भएकाे एउटा सानाे पर्चासँग सम्बन्धित घटनालाई आफ्नाे 'राजनीतिक उपलब्धि'-सँग जाेडेर 'दुर्दम्य ऐतिहासिक घटना'-काे रूपमा हालकाे समाजमा काेच्न खाेजिएकाे देखेर चूप लागेर रमिते बन्न उचित भएन ! याे के कारण पनि भने, म (नकुल काजी) समेत साे घटनामा डामिएकाे पात्र हुँ  ।  र, साे राजकाज अपराधकाे अभियाेगमा पक्राउ परी दाेस्राे समूहमा तारिखमा थुनामुक्त म र मेरा मित्र टाेरुप प्रसाईं (नेपाली काङरेसका पुराना केन्द्रीय नेता रामबाबु प्रसाईंका जेष्ठ पुत्र) एउटा यस्ताे साक्षी हाैं,  जसलाई  याे घटनाकाे आद्याेपान्त थाहा छ र त्याे  'थाहा'  अहिले पाेखिएमा यसबेला वाकिफी (notice)-मा ल्याइएका पात्रहरूलाई भिराइएका श्रृङ्गारित मालाहरूकाे ओजन र महत्व कदाचित यथावत रहन पाउने छैन । त्यसैले हाेला - मेराे मात्र हाेइन  टाेरुप प्रसाईं समेतकाे नामाेच्चारणसम्म  नगरी  साे घटनाकाे ब्यानरमा याे समेत तीन पटक नेपाली काङरेसजनले कार्यक्रम गर्दै 'ईतिहास' बुन्ने उपादान बनाएर सामाजिक सञ्जालमा छत्ताछुल्ल छरेकाे देखिँदाे छ । याे दृश्य जस्तै रङ्गढङ्गकाे इतिहासमा लेखिए  'केजाति गर्नेलाई भन्दा देख्नेलाई लाज'-काे विषय त बन्छ नै र त्याे इतिहास सबलाङ्ग बन्न  सक्तैन भन्ने लाग्दछ । जसलाई 'घटना'-काे फेदटुप्पाे थाहा  छैन उहीँ जानकार भइटाेपलेर इतिहासकै खिल्ली उडाउने गरेकाे  त चाैतर्फीरूपमा देशैभर देखिदाे  छ भने भद्रपुरकाे एउटा सानाे  पर्चा १०/२०वटा मात्र छरिन पाएकाे  सामान्य  'स्थानीय'  घटना न थियाे त्याे । त्यसलाई उछालेर कसै-कसैलाई 'क्रान्ति नायक'  पगरी गुँथाउनु कति  उचित थियाे ? यसबाट त  कार्यक्रम आयाेजककै सक्कली  हैसियतलाई नै उदभूत गराएन  र ?  विगतका झिना-मसिना घटना उधिन्ने , त्यसकाे 'सत्य'-लाई देखादेखी आगाे लगाएर  त्यसैकाे खराने थुप्राेमाथि उभिँदा  कति दिन कति अग्लाे देखिइन्छ र ? हुन त भएकाे घटनाकै 'पीडित साक्षी'-हरूलाई पछि पारेर  पीडकले  आफ्नाे श्रेष्ठता प्रतिष्ठापन गर्ने र ठूल्ठूला डिङ  हँक्ने नामूद व्यक्ति नै जाे हाल जुन-जुन देशमा राष्ट्रिय  कार्यकारी छन् सबैमा नेपालकै जस्ताे वा नेपालकाे भद्रपुरकै जस्ताे त हाेला कि !  ढुड्गे युग पार गरेकाे संसारमा 'कानूनकाे शासन'  चल्न थालेदेखि  कुन देशकाे माेफसलका गाउँठाउँमा  पाे कानूनले दण्डनीय ठहर गरेसम्म  झिना- मसिना र  ठूला काण्डलाई  छुट्याएर  साे बमाेजिम कुनै पनि राज्यव्यवस्था प्रस्तुत हुने गरेकाे छ र ? याे सत्यलाई आलाेकाँचाे विवेकले पर्गेल्न नसक्नुलाई स्वाभाविक मान्दा पनि हुने नै हाे !  किनभने, यसै गर्नुलाई 'कानूनी समानता' मान्ने डेउढाे परम्परा त जाे जताततै कायमै  छ ।
              अतः केही दिन अघि भद्रपुरनेर मेची खाेलामाथि इण्डियन लगानीमा  बनेकाे पुलमा स्थानीय नेपाली काङरेसकाे प्रजातन्त्र सेनानी समूहले एउटा  कार्यक्रम गरेकाे रहेछ । त्याे कार्यक्रममा २०२८ साल पुसतिरकाे साे पुल सम्बन्धी  एउटा सानाे तर तत्कालीन समय-सन्दर्भका लागि आपत्तिजनक ठहर हुने उटुङ्गी र अपमानजनक भाषा-शब्दहरू प्रयुक्त पर्चा छरिंदा कानूनी कारवाही भएकाे  घटनाकाे ब्यानर राखी साे पर्चाका तत्कालीक आठ अभियुक्तमध्ये दुईजनालाई सम्मान गरेकाे र तिनलाई 'क्रान्ति नायक'-काे पगरी गुँथाएकाे समाचार कैही पत्र- पत्रिका र फेसबुकहरूमा असरल्ल आए  । र, त्याे समाचारका  प्रेषकले फेरि पनि विषयकाे अधूराे प्रेषण गर्दै  'इतिहासकै पुनरावृत्त'-काे दम्भ प्रक्षेपण गरेकाे  बुझियाे  , जाे  'ईतिहास'-काे परिभाषालाई अनिवार्य  'सत्यता'-बाट टाढा छ ।
              वि.सं. २०२४ काे प्रारम्भदेखि  झापा जिल्ला पञ्चायतले 'मेची
पुल  तथा सर्वाङ्गीण विकास कर' नामले जिल्लाकाे आयात-निर्यातमा कर उठाउँदै आएकाे थियाे । साे कर सालिन्ने लगभग हरदर १२ लाख रुपैयाँ उठाइने गरिएकाे  जिल्ला पञ्चायतकाे वार्षिक साधारण सभाहरूमा प्रतिवेदन सुनाइने गरिन्थ्याे ।  साे प्रयाेजनका लागि विभिन्न नाकामा राखिएका कर-चाैकीमै उठ्तीकाे ३५/४० प्रतिशत भ्रष्टाचार  हुने गरेकाे जनचर्चा त्यसबेला प्रखर थियाे । तर,  प्रजातन्त्राेत्तर तुरुन्तै नेपाली काङरेसमा प्रविष्ट हरिनाथ बाँस्ताेला, केदामणि ढकाल, नरेन्द्र खनाल,  प्रकाशचन्द्र मुखिया, नरनाथ पराजुली,  नगेन्द्रबहादुर बस्नेत, डिट्ठा नरबहादुर बस्नेत, शम्भुप्रसाद पाेखरेल, भाेलालाल श्रेष्ठ आदि झापाका तत्कालीक  'हुकुमी पञ्च'-ले  तिनका मान्छे  ती कर-चाैकीहरूमा घुसाएकाले तिनलाई नियामकहरूले छुने आँट  गर्दैनथे । त्याे भ्रष्टाचारबाट जाेगिन सकेर  जिल्ला पञ्चायतमा दाखिला भएकाे मात्र माथि भिनएकाे  वार्षिक हरदर रु.१२ लाखकाे आँकडा हाे, जाे लगभग रु. ६०/६५ लाख हुनपर्थ्याे । तर, तत्काल १५/२० जनाकाे धन-सम्पति र   प्रवृतिले सामन्तहरू माथि उल्लिखित लगायत सीताराम भट्टराई, गाेपालचन्द्र सिंह राजवंशी आदि पञ्च जत्था डेढ-दुई महिनाकाे फरकमा 'प्रतिनिधि मण्डल गर्न' काठमाडाैं जान्थे र हप्ताैं तारे हाेटलकाे ऐय्यासी गाँसवासका अतिरिक्त सुरा- सुन्दरीकाे नवाबी मस्ती मार्ने गर्थे । त्याे धन्धाकाे बिराेध समाजका सबै व्यावसायिक कित्तामा अत्यधिक बढेबाट उपर्युक्त अघिल्लाे पङ्तिका छद्मभेषी पञ्च समूह थर्कियाे र 'हिसाब नखाेजिने ठाउँ'-मा उक्त कर रकमकाे माैज्दात जिम्मा लगाएर ढुक्क हुन चाहन्थे । त्यसैबेला युवराज वीरेन्द्र इलाम भ्रमण पर्न गयाे । इलाममा त्यसबेलाका हुकुमी पञ्चहरू साेमनाथ बाँस्ताेला, केदार बाँस्ताेला, श्रीमती शारदा थापा, श्रीमती सरस्वती राई, खड्ग वैद्य आदि निर्णायक हैसियतमा  थिए । झापाका माथि उल्लिखित  पञ्चहरूले उनै इलामेकाे सहारा लिन पुगे र झापामा उपर्युक्त 'कर'-काे रकममा अनियन्त्रित दुरुपयाेग भइरहेकाे र माई खाेलाकाे प्रस्तावित  'राजदुवाली पुल'-मा त्यसकाे सदुपयाेग गर्न  युवराज वीरेन्द्रलाई सुझाएपछि साे करबाट पाँच वर्ष उठेकाे भनेर रु २२ लाख ८० हजार  युवराजमा सुम्पिइएकाे थियाे । त्याे सत्यकथा मैले मेराे 'पञ्चायती झापा' नामक पछिल्लाे पुस्तकमा पनि संक्षेपमा लेखेकाे छु । एउटा कुरा  थप के भने - मैले माथि नामै  उल्लेख गरेका उसबेलाका जब्बर ( obstinate) पञ्चहरू हाल जति नेपाली काङरेस पार्टीमा छन् तिनलाई  पनि प्रजातन्त्रका सेनानीमा सूचीकृत गरिएकाे भएमा समेत आश्चर्य नहुने स्थिति यस्ता सन्दर्भले जन्माउन सक्तछ ।
              अर्थात् , त्यही  रकम युवराज वीरेन्द्रमा बुझाइएकाे विरेाेध मात्र थियाे  याम भण्डारीद्वारा खेस्रा भएकाे र के.बी. कार्कीद्वारा 'प्रभावकारी' बनाइएकाे पर्चा\ जसलाई 'क्रान्तिकारी' र 'लाेकतान्त्रिक आन्दाेलनकाे शिरविन्दु' नै बनाई फूलबुट्टाले सिँगार्दै अवसर-अवसरमा प्रस्तुत गरेर साे घटनाकाे नलीबेली  थाहा  नभएकाे 'वर्तमान'-लाई अल्मल्याउने गरिंदैछ  !  त्यसताकाकाे  प्रशासनलाई उसले विभिन्न समयदेखि  ढुकिरहेकाे  दाउलाई त्याे स्यानाे  पर्चाले  सफल गराएकाे थियाे - सायद उक्त पर्चा नै साे धडपकडकाे एक्लाे कारण थिएन हाेला भन्ने उसबेलाका कतिपय प्रकरण आज पनि स्मृत हुने गर्छ ।
          अर्थात् , तत्कालीन मेची अञ्चलाधीश मनाेमाेहन मिश्रलाई पृष्ठशक्ति राखेर झापा जि.प.-ले उसरी लगभग पाँच वर्ष उठाएकाे 'मेची पुल तथा  सर्वाङ्गीण  विकास कर'-काे माैज्दात रु.२२ लाख ८० हजार माथि उल्लिखित झापा र इलामका पञ्चहरूकै टाउकाे बचाउने स्वार्थवश  युवराज वीरेन्द्रमा सुम्पुवा हुन पुगेकाे हाे  भन्ने उस समयका जानकारहरूलाई थाहा भएकै विषय हाे । त्याे हस्तान्तरण कार्यक्रममा साे रकम लिने-दिनेकाे  समूह फाेटाे उद्याेगपति (हाल   स्वर्गीय ) माेहनलाल अग्रवालकाे घर-च्याम्बरमा झुण्डिएकाे अझै पनि हाेला ।   त्यसपछि झापाली  जन-समाजकाे असन्ताेष झन तातेकाे थियाे र पञ्च-स्वेच्छाचारिताकाे विराेध सतहमै आएकाे थियाे । त्यसबेला याम भण्डारीकाे सुर-बेसुर पहलमा साहस  जाग्रत भई त्यही सेराफेराेमा उल्लिखित पर्चा प्रकाशमा आएकाे हाे । त्यसबेला म बिराटनगरबाट भाषाशास्त्री महानन्द सापकाेटाकाे  संरक्षकत्वमा ने.का.पन्थी नारदप्रसाद ओझा र निरपेक्ष कुमारबहादुर श्रेष्ठकाे सम्पादनमा प्रकाशमा आइरहेकाे साप्ताहिक 'काेसेली'-काे झापा प्रतिनिधि र समाचारदाता थिएँ । र, त्यस साप्ताहिकमा झापामा उक्त करमा भइरहेकाे भ्रष्टाचार र न्यून माैज्दात युवराजमा पुगेर राजदुवाली पुल निर्माणका लागि तत्कालै सम्बन्धित निकायमा  हस्तान्तरण भएकाे समाचार मेराे नामबाटै छापिएका थिए ।  मेची पुल निर्माणकाे नाममा उठेकाे रकम यसरी ' हिसाब खाेज्नै नपाइने ठाउँ -मा  गएकाे विराेधमा  लगत्तै याम भणडारीकाे पहलमा पर्चेबाजी हुँदैछ भन्ने मैले मित्र कृष्णप्रसाद पाैडेल र के.बी. कार्कीबाट सुनेकाे हुँ । साे पर्चा छपाइ खर्चकाे लागि चन्दाकाे आग्रह भएकाे कुरा माेहनलाल अग्रवालले पनि गर्नु भएकाे थियाे । तर, तत्काल याम भण्डारीसँग भने मेराे भेट भएकाे थिएन र म यकिन थिइन । त्यतातिर मेराे आभ्यन्तरिक रुचि पनि उत्ति थिएन ।  घटनापरक रूपमा कालाेलाई कालाे र सेताेलाई सेताे भन्ने मेराे वाैद्धिक अभ्यासकाे जीवनले कुनै विषयलाई राजनीतिक  महत्व दिन, मानाें, जानेकै थिएन ! ५८ वर्षदेखि यही भद्रपुरलाई मार्यक्षेत्र बनाएर अक्षरकाे खेतीमै मेरा दिनहरू व्यतित हुँदै आएका छन् ।
             ती घटना प्रकरणहरू चलिरहेकै बेला मेराे अभिभावकत्वमा रहेकाे भतिजाेकाे  हात भाँचिएकाले उसकाे उपचारका लागि सिलीगुढी  लिएर जानू परेकाे थियाे त्यहाँबाट  छ दिनपछि म, उपचाररत भतिजाेलाई मित्र गाेपीकृष्ण खनालकाे रेखदेखमा विधान मार्केटस्थित रामकृष्ण नर्ङ हाेममा छेडेर , थप खर्च जाेहाे गर्न घर आइरहेकाे थिएँ । गलगलियामा ट्रेनबाट  उत्रिएपछि म पैदलै घर (चन्द्रगढी)-तर्फ गइरहेकाे थिएँ - भद्रपुरकाे संगम चाेकबाट उत्तर  नरनाथ पराजुलीकाे घरउत्तर मेरा एक दाइमित्रकाे टाँढे घरबाट बाेलाइएँ  । म थकित थिएँ तापनि उनकाे बरण्डामा उक्लिएँ । उनले किन हाे  कुन्नि केशवकुमार बुढाथाेकी,  लीला थपलिया, भरत बाबु (सीके प्रसाईं) र उनका साथी-संगी समेतले मेराे  बाैद्धिकता, सक्रियता र आँटिलाे स्वभावकाे बारेमा के-के भन्छन् केही उद्धरण नै सुनाएर मलाई सम्मेाहित गरेपछि पट्याएकाे केही प्रति कागज ल्याएर मलाई दिँदै - "याे भर्खर हामीले निकालेकाे पर्चा हाे । ठाउँ-ठाउँका  तपाईंले चिनेका गत्तिला मान्छेकाे हात पराेस् ।" इत्यादि-इत्यादि भनेर दिए । मैले माथि उल्लेख गरेकै पर्चा हाेला भन्ठानें र झाेलाकाे साइड पकेटमा हालेर लामाे कुरा नगरी आफू  आजै फेरि सिलीगुढी पुग्नु परेकाे छ भन्ने कैरन लाएर  बाटाे लागें । ........
               लालमाटी (हाल सगरमाथा चाेक) पुग्दैगर्दा सँधै उनै दाइमित्रसँग देखिने दुई अल्लारे मतिर हेर्दै र हाँस्तै साइकलमा छिटाे-छिटाे चन्द्रगढीतर्फ गइरहेका मेरा आँखामा परे । म लखतरान स्थितिमा गइरहेकाे थिएँ । मैले हालक  किरात काेलाेनी क्षेत्र कटेकाे मात्र थिएँ, तत्कालीन  जिल्ला प्रहरी प्रमुख  गाेविन्दकृष्ण श्रेष्ठ (इन्स्पेटर)  र एसपी कार्यालयका इन्स्पेक्टर छिरिङ लामा    (साङदार्पा) कताबाट बाटाेमा निस्के र बडा साैहार्दपूर्ण तरिकाले हात मिलाउँदै  - 'तपाईंलाई  एसपी साहेबले भेट्न खाेज्नु भएकाे छ' भने र हामी स्वाभाविक  भावमा गफ गर्दै अगाडि बढ्याै । एसपी कार्यालय माेडमा पुगेपछि ती इन्स्पेक्टरहरूका स्वर नै घाेर्लिए र गेटमा उभिइरहेकाे प्रहरीलाई अह्राए -"उहाँलाई ब्यारेकमा लगेर राख  र उहाँकाे झाेला चाहिँ  भित्र अफिसमा लिएर आऊ ।"  ती भूपेन्द्र नामका प्रहरीले मलाई लगेर, फुसकाे छानाे भएकाे गाई-गाेठ जस्ताे, ब्यारिकभित्र हुले । त्यहाँ माेहनलाल अग्रवाल, मनाेहरलाल वंशल र टाेरुप प्रसाईं  भेटिए । .....बल्ल मैले म पनि पक्राउमा परेका पाे रहेछु भन्ने बुझें र मलाई कसले कसरी फँसायाे भन्ने कुरा मनमनै छिन्किएँ । .....मलाई  माथि उल्लिखित 'दाइमित्र'-ले याम भण्डारीकृत मेची पुल सम्बन्धी साे पर्चा दिइरहँदा र मैले लिइरहँदा त्यहाँ चराे-मुसाे केही-काेही  थिएन । र,  साे पट्याएर दिइएकाे पर्चा मैेले हेर्ने समयसम्म पाएकाे थिइन न त त्यससँग मेराे कुनै खास  चासाे र खायस नै थियाे ।...... यसरी मलाई त्यस काण्डमा 'फँसाइएकाे' थियाे । यद्यपि  ' दाइमित्र'-काे भलाइ साेचेर आज  पनि म नाम बताउने हकमा माैन रहेकाे छु  ! आवश्यक परे यसका पूर्व प्रकरी र कथालिकाहरू खाेलिएला । र,  याे मेराे 'माैन'-लाई मेराे कायरता ठान्ने गल्ती नहाेस् भन्ने चाहनै राखिराखेकै छु ।....
              उसैबेलादेखि नै उल्लिखित पर्चाका कतिपय वाक्यमा प्रयाेग भएका  अभद्र शब्दहरूलाई अनुपयुक्त ठानिए पनि , समग्रमा - त्याे कठाेरकालमा जन-भावनाकाे प्रतिनिधित्व हुने पर्चाका परिकल्पना र प्रकाशन गर्ने याम भण्डारीकाे आँटकाे प्रशंसा अटुट हुँदै आएकाे छ । त्यसकाे प्रभावी दच्काे अहिलेसम्म पनि बरकरार रहेकाे अनुभूत  हुँदेछ ।..... त्यस निम्ति बधाई ।                                                                                                       - शेष फेरि -   

सम्बन्धित समाचार