श्रीकृष्ण जन्माष्टमी : गौरीगञ्जमा म्याराथनमा नागेश्वर र पुष्पा प्रथम
श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको गौरीगञ्जमा आयोजित दोस्रो ठेकीटोला म्याराथन प्रतियोगितामा नागेश्वर ऐर र पुष्पा शेर्मा लिम्बू विजेता बनेका छन् ।
आज बिहान गौरीगञ्ज ३ स्थित ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज ६ स्थित चिल्हारा चोकदेखि पुनः ठेकीटोलासम्मको १२ किलोमिटर दुरीको म्याराथनमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराउँदै नेपाल प्रहरी क्लब काठमाडौँका नागेश्वर ऐर र झापा दमककी पुष्पा शेर्मा लिम्बू विजेता बनेका हुन् । ४१ मिनेट १६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै ऐरले २१ हजार नगद , जर्सी ,मेडल र प्रमाणपत्र जितेका छन् भने महिलातर्फ प्रथम भएकी लिम्बुले १ घण्टा २ मिनेटमा दुरी पार गर्दै ६ हजार ५०० नगद , जर्सी , मेडल, प्रमाणपत्र हासिल गरेकी छन् ।
त्यस्तै पुरुषतर्फ मोरङ लेटाङका विक्रम लिम्बु दोस्रो भए । उनले १० हजार नगद पुरस्कार पाए भने तेस्रो हुने पाँचथर निवासी भारतीय सैनिक मिसान आङदम्वेले ५ हजार नगद पुरस्कार हात पारेका छन् । प्रतियोगिताका टप टेनलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । त्यस्तै महिलातर्फ दोस्रो हुने मोरङ उर्लाबारीकी मन्दिरा महताराले २ हजार १०० र तेस्रो हुने दमककी यादिका देवानले १ हजार १०० रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
म्याराथनमा करिब १९० जना धावकले भाग लिएका थिए । उनीहरूलाई प्रमुख अतिथि र अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । ठेकीटोला युवा समूह गौरीगञ्ज ३ को आयोजनामा भएको प्रतियोगिताको समापन कार्यक्रममा समूहका अध्यक्ष सुशील राईको अध्यक्षता तथा गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।