हल्दीबारीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
हल्दीबारी । झापाको हल्दीबारीमा स्व. जगतबहादुर तथा नरमाया बन स्मृति प्रतिष्ठानद्वारा आयोजित वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।
हल्दीबारी माविमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा हल्दीबारी वडा नम्बर ४ र वडा नम्बर ३ विजय भएको छ। पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर २ बी लाई ट्राइबेकरमा हराएको हो । एक एक गोलले खेल बराबरी भएपछि ट्राइबेकरमा वडा नम्बर ४ ले जित सुनिश्चित गरेको थियो।
त्यस्तै दोस्रो खेल वडा नम्बर–३ ले वडा नम्बर–१ लाई २–१ गोलको अन्तरले हराएको थियो । आज बिहीबारको पहिलो खेल वडा नम्बर ३ र २ बिच र दोस्रो खेल वडा नम्बर ४ र ५ बिच हुने खेलकुद संयोजक सन्तकुमार थापाले जानकारी दिए । छ वटा टिमको सहभागिता रहेको प्रतियोगिता मङ्सिर १९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रथम हुने टिमले नगद २५ हजार र दोस्रो हुने टिमले नगद १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने प्रतिष्ठानले जनाएको छ । हल्दीवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, हल्दीवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले उद्घाटन संयुक्त रूपमा गरेका थिए । प्रतिष्ठानका संरक्षक डम्बर बनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत हल्दीवारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले गरेका थिए ।
प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका संस्थापक तथा हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले फुटबल खेलको प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । आफूसँगै आफ्ना मातापिताको फुटबल खेलप्रति निकै लगाव रहेकाले दिवंगत मातापिताको सम्झनामा गत वर्षदेखि प्रतियोगिता सुरु गरिएको उनले बताए।
खानेपानीको उद्घाटन
प्रतियोगिताको उद्घाटनकै अवसरमा हल्दीबारी माविको प्राङ्गणमा नवनिर्मित खानेपानीको उद्घाटन गरिएको छ। हल्दीवारी माविको पूर्व विद्यार्थी समाज कक्षा–१० का ४७ औं ब्याचद्वारा निर्माण गरिएको खानेपानीको उद्घाटन गरिएको हो। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले रिबन काटेर उद्घाटन गरेका थिए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा आयोजक बन परिवार, हल्दीवारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दीवारी–५ का वडाध्यक्ष खड्गबहादुर लावती, हल्दीवारी–२ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पालिकाका कर्मचारी, सामाजिक संघ(संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।