बिर्तामोडमा वडास्तरीय फुटबल : वडा नम्बर ३ क्वाटरफाइनलमा
बिर्तामोड । बिर्तामोडमा जारी छैटौँ वडा स्तरीय फुटबल प्रतियोगिताको शनिवार भएको खेलबाट वडा नं. ३ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
वडा नं. ३ ले वडा न ८ लाई ८–१ गोल अन्तरले पराजित गर्यो । वडा नं. ३ का लागि आशिष् चापागाईँले ह्याट्रिकसहित ५ सन्तोष राईले १ र प्रयास बुढाथोकीले २ गोल गरे । वडा नं. ८ का लागि एक मात्र सान्त्वना गोल विवेक राजवंशीले फर्काए ।
खेलको प्लेयर अफ द म्याच वडा नं. ३ का आशिष् चापागाईँ भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा र आयोजक समितिका अध्यक्ष विकास गिरीले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नं. ३ विजयी भएको छ । वडा नं. ८ का खेलाडी उपस्थित नभएपछि वडा नं. ३ ले वाकओभर पाउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
भेट्रान्स फुटबल प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव बिसन लिम्बुले जानकारी दिए । भेट्रान्स अन्तरगतको आइतबारको भेट्रान्स खेल वडा नं. ६ र वडा नं. ७ बीच हुने छ ।