दुबईमा चम्किइन् रेनु, राखेपमा सम्मान
काठमाडौँ । पाँचौँ एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी रेनु तामाङ र उनका प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ। युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा हालै सम्पन्न प्रतियोगितामा पदक जितेर फर्किएका उनीहरूलाई राखेपका कार्यवाहक सदस्य-सचिव रामचरित्र मेहताले मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयमा स्वागत तथा सम्मान गरेका हुन्।
रेनुले प्रतियोगिताको के-४४ विधाअन्तर्गत महिला ४७ किलोमुनि तौल समूहमा नेपालका लागि कास्य पदक दिलाएकी थिइन्। उनी राखेपले सञ्चालन गरिरहेको 'मिसन-२०२६' अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन्। कार्यवाहक सदस्य-सचिव मेहताले रेनुको सफलताले नेपाली खेलकुद क्षेत्रको शिर उँचो पारेको भन्दै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्न शुभकामना दिए।
सम्मान कार्यक्रममा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द र सदस्य नन्दा बस्याल लगायतको उपस्थिति थियो। राखेपले युवा पारा खेलाडीहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहभागिताका लागि विशेष योजनाहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ।