२०८३ मंसीर ३ गते , बुधबार

छठ पूजामा गएका बेला भद्रपुर र बिर्तामोडमा १८ लाखको चोरी

sajilo news
झापा
२०८३ मंसीर २ गते , मंगलबार
छठ पूजामा गएका बेला भद्रपुर र बिर्तामोडमा १८ लाखको चोरी

छठ पूजा हेर्न घरका सदस्यहरू गएको मौका छोपेर झापाका दुई घरमा चोरी भएको छ । छठ पूजाको अवसरमा घर खाली रहेका बेला चोरले भद्रपुर र बिर्तामोडका दुई घरबाट नगद, सुनचाँदीका गरगहना तथा अन्य सामान गरी करिब १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका हुन् ।

भद्रपुर नगरपालिका–५ गौतमबुद्ध टोलस्थित मनोज गौतमको घरमा चोरी भएको छ । घरका सदस्यहरू घरमा ताल्चा लगाएर मेची नदीमा छठ पूजा हेर्न गएका बेला चोरले घरको कोठाको ताल्चा फुटाएर चोरी गरेका हुन् ।

टिनको छानो भएको एकतले पक्की घरको दराजमा राखिएको १० लाख रुपैयाँ नगद, एक तोलाको सुनको सिक्री एक थान, आधा तोलाको सुनको कानको बाली एक जोर र चार आनाको नथिया दुई थान चोरी भएको पीडितले बताएका छन् । चोरी भएको धनमालको मूल्य करिब १४ लाख रुपैयाँ रहेको जनाइएको छ । 

त्यस्तै, बिर्तामोड नगरपालिका–१० सैनिक बजारस्थित राकेश साहको घरमा पनि चोरी भएको छ । छठ पूजा गरेर घर फर्किएका परिवारका सदस्यहरू माथिल्लो तलामा सुतेका बेला चोरले भुइँतलामा रहेको पसल र पूजा कोठामा चोरी गरेका हुन् ।

साहको दुईतले घरबाट ६० हजार रुपैयाँ नगद, एक तोलाको सुनको सिक्री, १० देखि १५ तोलासम्मका चाँदीका गरगहना, दुई हजार रुपैयाँ बराबरको एनसेल रिचार्ज कार्ड र एउटा एन्ड्रोइड मोबाइल चोरी भएको छ । चोरी भएको सामानको मूल्य करिब चार लाख रुपैयाँ रहेको जनाइएको छ । प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार