२०८३ मंसीर ११ गते , विहीबार

सुडानमा ड्रोन आक्रमण, १९ सर्वसाधारणको मृत्यु

sajilo news
एजेन्सी
२०८३ मंसीर ११ गते , विहीबार
सुडानमा ड्रोन आक्रमण, १९ सर्वसाधारणको मृत्यु

सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यका दमाजिन र अल–रोसेरेस शहरमा भएका ड्रोन आक्रमणमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। 

प्रत्यक्षदर्शी र स्वयंसेवी समूहकाअनुसार मंगलवार बिहानदेखि शुरु भएका आक्रमण साँझसम्म जारी रहेका थिए। दमाजिनमा साँझको समयमा चारवटा ड्रोनले आवासीय क्षेत्रमा आक्रमण गर्दा धेरै हताहती भएको प्रत्यक्षदर्शीले बताएका छन्। स्वयंसेवी मानव अधिकार समूह ‘इमर्जेन्सी लयर्स’ले मंगलवार साँझ दमाजिनका विभिन्न बस्तीमा भएको आक्रमणमा १९ जनाको मृत्यु र १५ जना घाइते भएको जनाएको छ। 

मृत्यु हुनेमा तीन परिवारका सदस्य तथा छ महिला रहेको समूहले उल्लेख गरेको छ। त्यस्तै, अल–रोसेरेसमा रहेका बाँध, विद्युत् उत्पादन केन्द्र तथा विद्युतीय संरचनालाई पनि ड्रोनले निशाना बनाएको समूहले जनाएको छ। समूहले आक्रमणका लागि अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई जिम्मेवार ठहर गरेको छ। 

आवासीय क्षेत्र र अत्यावश्यक पूर्वाधारमा आक्रमण हुँदा सर्वसाधारणको जीवन जोखिममा पर्ने र आधारभूत सेवामा अवरोध पुग्ने भन्दै उसले चिन्ता व्यक्त गरेको छ। यसैबीच, स्वयंसेवी संस्था ‘सुडान डक्टर्स नेटवर्क’ले पनि आक्रमणमा आरएसएफ संलग्न रहेको आरोप लगाएको छ। उक्त संस्थाकाअनुसार आक्रमणमा १७ जना सर्वसाधारणको मृत्यु भएको र १४ भन्दा बढी घाइते भएका छन्। संस्थाले पीडितहरू आफ्नै घरभित्र र आसपासका क्षेत्रमा आक्रमणमा परेको जनाएको छ। 

लक्षित क्षेत्र आवासीय बस्ती रहेको पुष्टि भएको उल्लेख गर्दै उसले संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघीय मानवअधिकार परिषद् र सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई स्वतन्त्र अनुसन्धान गर्न, घटनाको अभिलेखीकरण गर्न तथा दोषीलाई जवाफदेही बनाउन आग्रह गरेको छ। सुडानमा सन् २०२३ अप्रिलदेखि सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच सशस्त्र द्वन्द्व जारी छ। उक्त द्वन्द्वका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन्। विस्थापितमध्ये केही देशभित्रै र केही देशबाहिर शरण लिन बाध्य भएका छन्। 

सम्बन्धित समाचार