२०८३ मंसीर ११ गते , विहीबार

पशुपतिनगरमा १६ लाख ५३ हजारको अवैध सामान तथा चौपाया

sajilo news
इलाम
२०८३ मंसीर ११ गते , विहीबार
पशुपतिनगरमा १६ लाख ५३ हजारको अवैध सामान तथा चौपाया

इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्मले १६ लाख ५३ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ ।

गुल्मले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न समयमा सञ्चालन गरेको कारबाहीका क्रममा उक्त मूल्य बराबरका सामान तथा चौपाया बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा स्याउ, फर्सीका बियाँ, जुत्ता–चप्पल, मदिराजन्य पदार्थलगायतका सामान बरामद गरिएको छ ।

बरामद सामग्रीमा १७८ कार्टुन अर्थात् तीन हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५७० किलो फर्सीका बियाँ, जुत्ता–चप्पल तथा विभिन्न चौपाया छन् ।

सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा क्षेत्र र खोलागोदाम आसपासका स्थानबाट ती सामग्री बरामद गरिएको हो । सशस्त्र प्रहरीका अनुसार बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसेका प्रहरी सम्मिलित संयुक्त टोलीले कारबाही गरेको थियो ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती र निगरानीलाई तीव्रता दिइएको सीमा सुरक्षा गुल्म पशुपतिनगरका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

सम्बन्धित समाचार