बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बुधबार राति करिब ९ बजे लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा राति १०ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र आठ जनाको अवस्था सामान्य रहेको छ। गम्भीर घाइते अश्विन चौधरी र निर्मल चौधरीसहित आठ जनालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ।
अन्य घाइतेमध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई विभिन्न अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।