विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

विराटनगर । थ्रीस्टार फुटबल क्लब विराटनगरमा जारी ९औँ संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ। विराटनगरको सहिद रंगशालामा आइतवार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो।
जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले १/१ गोल गरे। थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै अग्रता लियो। दिपेश घलेले निकालेको क्रसलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए।
दोस्रो गोल खेलको २८औँ मिनेटमा भयो। आशिष चापागाईंले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाए। तेस्रो गोल ८१औँ मिनेट भयो। नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे।
आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले १/१ गोल फर्काए। नवयुगले खेलको ८३औँ मिनेटमा गोल गरे। दोस्रो गोल पेलान्टी सुटआउटबाट आर्मीका निरज चौधरीले गरे। आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्सभित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए।
जितसँगै उपाधिको लागि थ्रीस्टारले आज हुने अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो हाफमा २–० गोलले पछि परेपछि आर्मी दबाबमा पर्यो। पहिलो हाफ आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो। खेल बराबरीमा ल्याउन उसले निकै संघर्ष गरे पनि सफल हुन सकेन।
दोस्रो हाफमा आक्रामक खेल पस्किए पनि आर्मीले पाएको अवसर खेर फाल्दा सेमिफाइलनबाटै घर फर्किन बाध्य भयो। केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न आर्मीले सकेन।
खेल अवधिभरीमा आर्मीका एक दर्जन प्रहार विफल भएका थिए। आर्मीका कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्रीस्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए।
आर्मीका फत्तेमान घलेले २२औँ मिनेटमा गरेको प्रहार बारमाथिबाट बाहिरियो। २८औँ मिनेटमा आर्मीका कप्तान नवयुग श्रेष्ठले गरेको कडा प्रहारलाई थ्रीस्टारका गोलरक्षक विवेक मगरले रोके।
कप्तान श्रेष्ठले गरेको बारम्बारको कडा प्रहार थ्रीस्टारका गोलकिपर मगरले विफल पारिदिए। ५६औँ मिनेटमा आर्मीका निरज चौधरीले निकालेको क्रसलाई नवयुगले क्लियर गर्न नसक्दा गोल हुन सकेन।
निरज चौधरीले ७०औँ मिनेटमा डिबक्स भित्रबाट नवयुगले निकालेको बललाई क्लियर गर्न सकेनन्। त्यसपछि आर्मीले कुनै अवसर सिर्जना गर्न नसक्दा उपाधि होडबाट बाहिरियो।
प्रतियोगिताको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए। २०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइनलमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो।